मिडियामैत्री पालिका बनाउने जनप्रतिनिधिहरुको प्रतिवद्धता

मिडियामैत्री पालिका बनाउन दाङका पालिका प्रमुख उपप्रमुखहरुले प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले मंगलबार घोराहीमा आयोजना गरेको जनप्रतिनिधिहरुसँग स्थानीय तहमा मिडियामैत्री नीति र कार्यक्रम निर्माण सम्बन्धी छलफल तथा परिचयात्मक कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
घोराही उपमहानगरपालिकाका नवनिर्वाचित मेयर नरुलाल चौधरीले पालिकालाई मिडियामैत्री बनाउने काम गर्दै आएको बताए । देशमा लोकतन्त्र, गणतन्त्र आईसकेपछि सञ्चार माध्यमको महत्वपुर्ण भुमिका रहने बताउँदै मेयर चौधरीले जनताहरुलाई सही सूचना दिनको लागि मिडियाहरुको संरक्षण गर्न आवश्यक रहेको बताए । आफु यसअघि पनि घोराही उपमहानगरपालिकाको जनप्रतिनिधि भई सकेकाले पाँच वर्षको अवधीमा विज्ञापन, सूचनाहरु स्थानीय तहबाट सञ्चालित मिडियाहरुबाट गर्नको लागि कर्मचारीहरुलाई आग्रह गरेको समेत उनले बताए ।
त्यसका साथै पत्रकार महासंघ दाङ शाखालाई थोरै भए पनि अनुदान दिंदै आएको बताए । सबै मिडियालाई समान खालको वातावरण पालिकाले गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि अझै मिडियामैत्री पालिका बनाउँन लागि पर्ने प्रतिवद्धता जनाए । साथै चौधरीले मिडियालाई सरकारले संरक्षण गर्नु पर्ने बताउँदै पत्रकारहरुलाई पुर्वाग्राह नराखेर जनता सामु सहि सूचना प्रभाव गर्न आग्रह गरे ।
सोही अवसरमा उपमेयर हुमा डिसीले घोराही उपमहानगरपालिकाले सञ्चार माध्यमहरुलाई सहजै रुपमा सूचना प्रवाह गर्नको लागि कन्जुसाई नगर्ने बताईन् । साथै उपमेयर डिसीले रेक आन्दोलनमा पत्रकारहरुको साथले नै सफल भएको बताउँदै अब आफुहरुले पत्रकारहरुको मर्म र आवश्यकता बुझेर सहयोग र सेवा गर्ने प्रतिवद्धता जनाईन् । उनले घोराही उपमहानगरपालिकामा पनि न्यायिक समितिको ईजलाश भएको जानकारी दिंदै आफुले ईजलासमा बसेर नभई पिडितसंगै बसेर न्याय दिने बताईन ।
त्यस्तै दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पीमाकुमारी खड्काले न्यायिक समितिको लागि आफुले ईजलाश नबनाएको बताईन् । आफु जनप्रतिनिधि हुँदै गर्दा अर्धन्याक भएकाले अर्धन्यायकले ईजलाश बनाउनु हुँदैन भनेर ईजलाश नबनाएको र पीडित भएर आफु कहाँ आउँने व्यक्ति जुन ठाउँमा बस्छ म पनि त्यही बसेर त्यसलाई न्याय दिन्छु भनेर ईजलाश नबनाएको जानकारी दिईन् ।
उनले दंगीशरण गाउँपालिकााई मिडियामैत्री बनाउने बताउँदै पत्रकारहरुलाई पुर्वाग्राही भएर समाचार प्रकाशित नगर्न आग्रह गरिन् । पालिकामा बजेट सिमित हुने र आश्यकता असिमित भएकाले सबै मिडियालाई समेट्न नसकेको आभास भएको बताईन् ।
त्यस्तै बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीले आफ्नो पालिका विगतदेखि नै मिडियामैत्री भएको र आगामी दिनहरुमा पनि मिडियामैत्री रहने प्रतिवद्धता जनाए । बंगलाचुली गाउँपालिकाले संचार गजतलाई राम्रो तरिकाले लैजानको लागि रेडियो समेत सञ्चालन गरेको बताए ।
आफु स्वास्थ्य क्षेत्रमा काम गरेको व्यक्ति भएकाले त्यो समयमा पनि आफुले सञ्चारकर्मीहरुलाई सहजै सेवा दिएको जानकारी दिए । साथै जिसीले दाङको दशवटा पालिकामा आफु मात्रै पुरुष उपाध्यक्ष रहेको बताउँदै कतीले महिलाको भाग खोसियो भन्ने खालको कुराहरु आएको बताउँदै कानूनमा उपाध्यक्ष पद महिलाहरुको लागि भन्ने कहि कतै नभएकाले मिडियाहरुले यस्ता खालका कुराहरु पनि बाहिर ल्याउनु पर्ने बताए ।
राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले कुन पालिकाले कस्तो काम गरेको छ भनेर पत्रकारहरुले बुझ्दै आएको बताउँदै आगामी दिनहरुमा पनि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सचेत गराउन ताकेता गर्न आग्रह गरिन् । त्यसका साथै सहज रुपमा पालिकाबाट मिडियालाई सूचना दिने बताईन् ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सुर्दशन रिजाल, दशरथ घिमिरे, लोकराज पराजुली, ओमप्रकाश गुप्ता, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष सविन प्रियासन, पुर्व अध्यक्ष केवी मसाल, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम लगायतले आफु परिचित हुने नाममा अधिकार भन्दा बाहिर नगएर समयमै सञ्चार माध्यमहरुलाई सूचना दिनुपर्ने, पालिकाहरुले स्थानीय स्तरका मिडियाको लागि बजेट छुट्याउनु पर्ने, चुनाबको बेला जनतासंग गरेका प्रतिवद्धता पुरा गर्न आग्रह गर्दै विभिन्न सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।
तुलसीपुर अनलाइनमा प्रकशित