घोराहीमा मेयरका उम्मेदवारसँग बहस


 

घोराही उपमहानगरपालिकामा मेयर पदका उम्मेदवारहरुले नगरको विकास कृषि, रोजगार र पर्यटनबाट गर्न सकिने आफ्ना योजनाहरु सुनाएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको निर्वाचन बहस कार्यक्रममा मेयर पदका उम्मेदवारहरुले आ आफ्नो योजना सुनाएका हुन् ।

पाँच दलिय गठबन्धनका उम्मेदवार हेमराज शर्माले नगरको विकास कृषिको माध्यमबाट गर्ने सोच रहेको बताउनुभयो । आफुले चुनाब जितेपछि कृषि प्रबद्र्धनका कार्यक्रमहरु सञ्चालन गरेर नागरिकहरुको जीवन स्तर सुधार गर्ने बताउनुभयो । कृषि, पशुपालन र पर्यटनका माध्यमबाट नागरिकको आर्थिक अबस्थामा सुधार ल्याउने उहाँको भनाई छ ।

त्यसैगरी, माध्यामिक तह सम्मको शिक्षा निशुल्क भने पनि कार्यान्वयन हुन नसेको अबस्थालाई कार्यान्वयनमा ल्याउने, भरपर्दो स्वास्थ्य सेवा सञ्चालन गरेर रिफरलाई रोक्ने, रोजगारी सृजना गर्न सिप युक्त जनशक्ति तयार गर्ने, सेवालाई छिटो छरितो बनाउने र अधिकांश सेवा वडाबाटै दिने, सुशासन कायम गर्ने लगाएतका योजनाहरु सुनाउनुभयो ।

त्यसैगरी, नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार नरुलाल चौधरीले वितेको ५ बर्षमा विकासका धेरै आधारहरु तयार पारेको र अब त्यसलाई थप व्यवस्थित र दिगो बनाएर लैजाने उद्घोष गर्नुभयो । पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटनलाई नै बिषेश जोड दिने र यसको दिगो तथा गुणस्तरीय व्यवस्थापनलाई थप मजबुद बनाउने बताउनुभयो ।

सिप युक्त नागरिक बनाउने गरि तालिम केन्द्र स्थापना गरेर आर्थीक सुधार ल्याउन प्रयत्न गरिने उल्लेख गर्नुभयो । सडक सञ्जालले सबै बस्तीहरुलाई समेट्न सकेको भन्दै उहाँले अब नगर बस सञ्चालन गर्ने बताउनुभयो । कृषि र पशुपालनलाई बिषेश जोड दिदै नागरिकको जीवन स्तरमा सुधार ल्याई रोजगारीको सृजना गर्ने समेत बताउनुभयो ।

एकीकृत समाजबादीका तर्फबाट मेयर पदका उम्मेदवार रामप्रसाद चौधरीले निशुल्क गुणस्तरीय शिक्षा, कुनै पनि कामका देखिने सिण्डिकेटको अन्त्य, सफा र सुन्दर नगर, शिक्षा, स्वास्थ्य, खानेपानीमा सहज पहुँच पुराउने गरि काम गर्ने योजना सुनाउनुभयो । राप्रपाको तर्फबाट मेयर पदका उम्मेदवार सरिता देवकोटाले सुशासनमा जोड दिने कार्यक्रम लागु गर्ने बताउनुभयो ।

नागरिकहरुको सेवा लिने कार्यलाई छिटो छरितो बनाउने उल्लेख गर्नुभयो । सुरक्षित नागरिकको परिकल्पना पुरा गर्ने र बिदेश गएकाहरुको तथ्यांक राखेर राहत तथा उद्धार कोषको स्थापन गर्ने समेत बताउनुभयो । त्यस्तैगरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट मेयरका उम्मेदवार ठाकुर रोकाले सबै खाले बिकृतीको अन्त्य गरि सुशासन युक्त नगर बनाउने बताउनुभयो ।

सुकुम्बासीहरुलाई भूमिका व्यवस्था गर्ने, जल, जंगल तथा जमिनको उचित व्यवस्थापन गर्ने, कृषि उद्यमको प्रबद्र्धन गर्ने बताउनुभयो । नेश्नलमंगोल अर्गनाइजेशनका तर्फबाट मेयरका उम्मेदवार कल्पना थारुले भूमिहिनको उचित व्यवस्थापन, सुशासन, पारदर्शिता र गुणस्तरी पूर्वाधार निर्माण गर्ने सोच प्रस्तुत गर्नुभयो । पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिब आरके सितलले गर्नुभएको थियो ।

नयाँ युगबोध दैनिकमा प्रकाशित