पत्रकारिताका पछिल्ला प्रबृत्तीहरु

दुर्गालाल केसी (Durga Lal KC)
जिल्लामा नयााँ प्रहरी प्रमुख सरुवा भएर आउन र जान लाग्दा सामाजिक सञ्जाल पत्रकारबारेका टिकाटिप्पणीले भरिन्छन् । प्रायजसोको टिप्पणी हुन्छ–‘अब नयाँ एस्पीसँग सेल्फी खिच्न पत्रकारको भिड लाग्ने होला ।’ पत्रकारबारे सार्वजनिकरुपमा गरिने टिप्पणीले हामीलाई कत्ती पनि लज्जित बनाउँदैन । आम आलोचना छिचोल्दै पत्रकारहरु प्रहरी अधिकारीहरुसँग सेल्फी खिच्न पुगिहाल्छन् ।
कुनै पार्टीको नेता, प्रतिष्ठित व्यवसायी, सरकारी अधिकारीहरुको जन्मदिनमा पनि पत्रकार नै शुभकामना दिने अग्रपंक्तीमा हुन्छन् । अन्य बधाई र शुभकामनाका त कुरै नगरौं । आजभोलि यस्तो लाग्छ की पत्रकारको कर्म नै कसरी फेसबुकमा छाइरहौं । आम मानिसले ठूला मान्ने मानिसहरुसँग म नजिक छु भन्ने कुरा कसरी देखाऔं ? यस्तै यस्तै मनोदशाले ग्रस्त पत्रकारले सिंगो देश जगाउने जिम्मेवारी कतिबेला पूरा गरोस् ?
पत्रकारिता कर्म दिनदिनै टिकाटिप्पणीको बिषय बन्दा पनि अधिकांशलाई चिन्ता छैन । आफूले गरिरहेको कर्म धुमलिदै जाँदा पनि हाम्रो काम गर्ने शैलीमा खासै परिवर्तन हुँदैन । हामी थाहा नपाएझैं गरी आफ्नो गल्तीलाई बढावा दिइरहेका छौं । हामीबाट समाजले गरेको अपेक्षालाई कुल्चदै हिडेपछि गर्न बाँकी के रह्यो र ?
पत्रकारको व्यस्तता देखिन्छ । कतै फोटो खिचाउन, दिनहुँ केहीथान फोटो फेसबुकमा पोष्ट गर्न अनि त्यसमा आएको लाइक र कमेण्ट गन्ती गर्न, हरेक कमेण्टको जवाफ लेख्न । अनि कतिबेला लेखिनु समाचार ? बिचरा समाचार कक्ष समाचार कुरेर बसिरहेको हुन्छ । समाचार लेख्ने फुर्सद् नभएपछि आएका समाचार कपि पेष्ट वाहेक अरु के नै गर्न सकिन्छ र ?
अधिकांश सञ्चार माध्यममा एउटैखालका समाचार उही शिर्षक र लेखन शैलीमा देख्न पाइन्छ । यसले हाम्रो गम्भिरतालाई प्रष्ट पारिहेको छ । एउटाले लेखेको समाचार इमेल वा फेसबुक मेसेन्जरबाट सबै मिडियामा पुग्ने र हुवहु त्यही छापिने, बज्ने समस्या छ । अर्थात एउटाले तयार पारेको समाचार कपी पेष्ट गरेर काम चलाउने प्रबृत्ती बढ्दो छ । कतिपय काठमाण्डौका ठूला मिडियामा निकै महत्व पाइरहेका जिल्लाकै बिषयबस्तुले जिल्लाका मिडियामा खासै स्थान पाएका हुँदैनन् ।
अधिकांश मिडियामा सम्पादकहरु नै समाचार हेर्न भ्याउँदैनन् । रेडियो, पत्रपत्रिका र अनलाइनमा भेटिने समाचारका गल्तीलाई हेर्ने हो भने यो कुराको पुष्टि हुन्छ । अधिकांश मिडियाका सम्पादक दैनिक डेस्कमा बसेर समाचार सम्पादन गर्दैनन् । पाठकले नयाँपन खोजिरहेको हुन्छ तर हामी पुरानै शैलीमा रुमल्लिइरहेका छौं । फरक फरक बिषयलाई फरक तरिकाले प्रस्तुत गर्न सकिएकौ देखिदैन ।
कुनै समाचारको फ्लोअप नहुनु पनि अर्को समस्या हो । महत्वपूर्ण समाचारलाई नियमित फ्लोअप गर्ने काम नहुँदा कुनै घटनामा त्यसपछि के भयो भन्ने बिषयमा पाठक श्रोता अलमलमा पर्ने गरेका छन् । कुनै समाचार कति महत्वपूर्ण छ भन्ने कुरा उक्त समाचार कति फ्लोअप भयो भन्ने कुराले निर्धारण गर्छ तर यहाँ फ्लोअपको चलन निकै कम छ । कुनै पनि मिडियाले समाचार, रिपोर्ट संकलन, स्थलगत रिपोर्टिङ, समाचार फ्लोअप र पत्रकारको क्षमता अभिबृद्धि, स्थानीय कार्यक्रम उत्पादन जस्ता क्षेत्रमा लगानी गरेको छैन ।
सञ्चार माध्यममा आएका सामग्रीका बिषयमा समिक्षा गर्ने र सुझाव लिने क्रम पनि छैन । हामीले जे गरेका छौं ठिक गरेका छौं, अरुका कुरा सुन्न जरुरी छैन भन्ने सोचाइबाट ग्रस्त पारेको छ । आफैलाई थप परिमार्जन गर्न र राम्रो बनाउन पनि यसको आबश्यकता छ तर हाम्रा मिडियामा अहिले यो कुराको अभाव छ । अधिकांश पत्रकारलाई पूर्णकालिन राजनीतिक नेताभन्दा बढी पार्टीको चिन्ता देखिन्छ । पार्टीको बचाउ गर्न भ्याइनभ्याई हुन्छ । सामाजिक सञ्जालमा पक्ष विपक्षमा उत्रनुप¥यो अनि व्यस्तता बढिहाल्छ । हामीले कुनै आस्थाका आधारमा भन्दा बिषयबस्तु र समस्याका आधारमा समाचारलाई महत्व दिनुपर्ने हो तर सञ्चार माध्यम हुन् या सामाजिक सञ्जाल जहाँ पनि राजनीतिक बिषयमा पक्ष विपक्षको लडाईं गर्ने ठूलो जमात पत्रकारकै छ । आफू पत्रकार हुँ भन्ने कुरा पनि बिर्सेर राजनीतिक विवाद्मा मुछिने चलनले पत्रकारितामाथिको बिश्वसनियता नै घटेको छ ।
पछिल्लो समय अनलाइनहरुको बाढी नै चलेको छ । एक पत्रकार, एक अनलाइन जस्तो भैसकेको छ । अनलाइनहरुले पत्रकारिताको बिश्वास धेरै घटाइदिएका छन् । जे पनि समाचार बनाइदिने र पत्रारिताको सामान्य मूल्य मान्यतालाई पनि ख्याल नगरेर तथ्यविहिन समाचार दिने, मानिसलाई झुक्याउने खालका, बनावटी समाचार दिने जस्ता प्रवृत्तीले ईमान्दारपूर्वक अनलाइन चलाइरहेकालाई पनि समस्यामा पारेको छ ।
सामाजिक सञ्जाल अहिले मिडिया भन्दा बढी शक्तिशाली भएको छ । कतै नआएको समाचार सामाजिक सञ्जालमा आउने गर्छ । सामाजिक सञ्जालकै कारण धेरै गलत काम रोकिएका छन् । गल्ती गर्नेलाई कार्वाही भएका छन् । अब हामी पुरानै मानसिकता बोकेर मै मात्र ठिक भन्ने सोचेर बस्यौं भने मिडिया टिकाउन कठिन छ । हामीले दिन नसकेका कुरा सामाजिक सञ्जालले नै दिइहाल्ने भएकाले हाम्रो पेशागत अस्तित्व कायम राख्न पनि पत्रकारितालाई थप व्यवसायिक बनाउनुपर्ने देखिन्छ । सामाजिक सञ्जालका कारण हरेक नागरिक पत्रकार भएको छ । सामाजिक सञ्जालले उठाएका बिषयलाई आधार मानेर मिडियाले समाचार बनाउनुपर्ने बेला आएको छ ।
अहिले व्यवसायीक मिडियाहरुमा औपचारिकभन्दा अनौपचारिक या खोजमुलक सामग्री खोज्ने प्रवृत्ती शुरु भएको छ । मानिसहरुलाई कसरी रोचक र पठनयोग्य सामग्री दिने भन्नेमा जोड दिने बेला आएको छ । पाठकको रुचीका बिषय खोज्न पत्रकारले जाँगर गर्नुपर्ने देखिन्छ । अनेक समस्या र चुनौतीका बीच पनि अब हरेक पत्रकार र मिडियाले आफूलाई समय अनुसार बदल्न जरुरी छ । दिनभर अनाबश्यक प्रचारबाजीमा बिताउने समय समाचार संकलन र लेखनमा लगाउन सक्ने हो भने मात्रै पनि धेरै राम्रा समाचार तयार हुन सक्छन् । समयमै यतातिर ध्यान पुगे राम्रै हुने थियो ।